ब्राजिल र अर्जेन्टिनाको भिडन्त सम्भावना बढ्यो, यस्तो बन्यो ‘समीकरण’

Khel Sarokar

खेल सरोकार

ब्राजिल र अर्जेन्टिनाको भिडन्त सम्भावना बढ्यो, यस्तो बन्यो ‘समीकरण’

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप नकआउट चरण खेलमा उपाधि दाबेदार अर्जेन्टिना र ब्राजिलले जित हात पारिसकेका छन् । नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ तथा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हरायो । अन्तिम आठमा अब अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

त्यस्तै, ब्राजिलले क्वाटरफाइनलमा गत संस्करण उपविजेता क्रोएसियालाई प्रतिस्पर्धी पाएको छ । योसँगै फिफा विश्वकपको सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको भेट देख्न पाइने सम्भावना बढेको छ । ब्राजिल र अर्जेन्टिना सन् १९९० यता विश्वकपमा प्रतिस्पर्धा गरेका छैनन् । विश्वकपबाहेक क्षेत्रीय प्रतिस्पर्धामा भने दुई टिमबीच पछिल्ला वर्षमा थुप्रै खेल भए ।

यदि क्वाटरफाइनल विजयी भए ब्राजिल र अर्जेन्टिनाबीचको ‘हाइभोल्टेज’ म्याच देख्न पाइनेछ । विश्वकप इतिहासमा ब्राजिल र अर्जेन्टिनाले चारपटक एकअर्काको सामना गरेका छन् । जसमा ब्राजिलले दुई खेलमा जित हात पारेको छ । त्यस्तै, अर्जेन्टिनाले एकपटक ब्राजिललाई हराएको छ । यी दुई टिमबीचको एक खेल भने बराबरीमा सकिएको छ ।

ब्राजिल र अर्जेन्टिनाले सन् १९७४ देखि १९९० को बीचमा पाँचवटा विश्वकपको अवधिमा चार खेलमा प्रतिस्पर्धा गरेका थिए । सन् १९७४ र १९७८ मा दुई टिमबीच समूहमा प्रतिस्पर्धा भएको थियो । पहिलो खेलमा ब्राजिलले अर्जेन्टिनालाई हरायो । सन् १९८२ मा ब्राजिल र अर्जेन्टिनाले समूह ‘सी’ मा प्रतिस्पर्धा गरेका थिए ।

सो खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–१ ले हरायो । यद्यपि इटालीसँगको हारले ब्राजिल प्रतियोगिताबाट बाहिरिन पुग्यो । विश्वकपमा यी दुई टिमले पछिल्लोपटक सन् १९९० मा एकअर्काको सामना गरेका थिए । राउन्ड अफ १६ मा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएको थियो । फाइनलसम्म पुगे पनि अर्जेन्टिना जर्मनीसँग पराजित भयो ।

विश्वकपमा अर्जेन्टिना र ब्राजिल आमनेसामने नभएको ३२ पर्ष पुगिसकेको छ । यद्यपि ब्राजिल र अर्जेन्टिनाले अघिल्लो वर्ष कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा अर्जेन्टिनाले बाजी मार्‍यो । विश्वकपमा वर्षौंपछि यी दुई टोलीबीच भेट हुने समीकरण बनिरहँदा समर्थक उत्साहित भएका छन् । अर्जेन्टिनाले सन् १९९३ पछि विश्वकप ट्रफी जित्न सकेको छैन ।

त्यस्तै, ब्राजिलले २० वर्षयता विश्वकप उपाधि हात पार्न सकेकाे छैन । उसले अन्तिमपटक सन् २००२ को विश्वकप उपाधि जितेकाे थियो । वर्षौयता उपाधि हात पार्न चुकिरहेका अर्जेन्टिना र ब्राजिल यसपटक त्यो खडेरीलाई तोड्न चाहन्छन् ।

वर्तमान फुटबलका स्टार लिओनल मेस्सी र नेयमार पनि आफ्नो टिमलाई उपाधि दिलाएर सुखद अन्त्य गर्ने लक्ष्यमा छन् । यी दुवै स्टारले यो नै अन्तिम विश्वकप भनेर यसअघि नै बताइसकेका छन् ।

प्रतिक्रिया