प्रधानमन्त्री थ्रि नेसन्स कपमा आज फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल साँझ ५:३० बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ ।
नेपालले जारी प्रतियोगिताको अघिल्लो खेलमा लाओसलाई २ -० गोलको अन्तरले पराजित गरेको थियो ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।
नेपाल र लाओसबीचको हेड टु हेडमा नेपाल अगाडि छ भने अहिलेसम्म भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लाओसविरुद्ध नेपालले एक जित र एक बराबरीको खेल खेलिसकेको छ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार अमेरिकी डलर पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले भने ५ सय अमेरिकी डलर पाउनेछन् ।
आजको खेल र खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेलको अवधी सकिएको भएर आज हुने नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक हुनेछ । एउटा फिफा मितिमा दुई वटा मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने नियम अनुसार आजको खेल औपचारिक नहुने भएको हो ।
प्रतिक्रिया