चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । उनी प्रशिक्षक भएको ७ महिनामै बर्खास्तीमा परेका हुन् ।
पछिल्लो खेलमा पनि चेल्सी पराजित भएको थियो । शनिवार राति भएको खेलमा चेल्सी एस्टन भिल्लासँग २–० गोल अन्तरले पराजित भएको हो ।
उनको नेतृत्वमा भएको खेलमा चेल्सीले ३१ मा ११ खेलमा हार बेहोरेको छ । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि पोटरको प्रशिक्षणमा ३१औं खेलमा चेल्सीको यो ११औं हार हो ।
यो सिजन खेलाडी अनुबन्धमा ५५० मिलियन पाउन्डभन्दा बढी रकम खर्च गरेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा झरेको छ जुन शीर्ष चारभन्दा १२ अंकले पछि रहेको छ ।
पोटर बर्खास्त भएपछि चेल्सीले अब नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।
पोटर प्रिमियर लिगमा जारी सिजन बर्खास्त हुने १२औँ प्रशिक्षक हुन् । जारी सिजनले प्रिमियर लिगमा सबैभन्दा धेरै प्रशिक्षक बर्खास्त हुने कीर्तिमान बनाएको छ । यसअघि २०१७/१८ मा १० प्रशिक्षक बर्खास्त भएका थिए ।
प्रतिक्रिया