एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित

Khel Sarokar

खेल सरोकार

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित

एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालले यो अहिलेसम्म कै विशाल रन बनाएको हो ।

३११ रनको लक्ष्यसहित मैदानमा आएको ओमानको टिम ४६।३ ओभरमा सवै विकेट गुमाएर २२६ रन मात्र बनाउन सफल भयो ।

जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा छ । यो सँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट हात पारे ।

ओमानका मोहम्मद नदिमले ६५ रनको अर्धशतकीय पारि खेल्दा सन्दीप गौड ४६ रनमा आउट भए । आयान खानले २९ र कश्यप प्रजापतीले २५ रन बनाए ।

आज भएको खेलमा नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्‍याएका  हुन् । विश्व कीर्तिमान बनाउने  क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिए । ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा थियो । तर शुक्रबार सन्दीपले उक्त किर्तीमान तोडेका हुन् ।

त्यस्तै कुशल मल्लले सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ५९ बलमा शतक पूरा गर्दै उक्त कीर्तिमान बनाएका हुन् । कुनै पनि नेपाली ब्याट्सम्यानले ओडीआईमा बनाएको यो सर्वाधिक छिटो शतक हो ।

प्रतिक्रिया