नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दा पेशी न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा परेको छ । इजलासमा पहिलो नम्बरमा नै पेशी तोकिएको छ ।
चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश थियो । बरालको इजलासले स्वास्थ्य परीक्षण गराउने चिकित्सको नभई अरुको नै बकपत्र भएकाले सम्बन्धित चिकित्सकलाई झिकाउन आदेश दिएको थियो ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।
त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाए तर जिल्लाको आदेशविरुद्ध उच्च पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दियो ।
विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए र न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएका थिए।
प्रतिक्रिया