१९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइसतर्फ ५ जना खेलाडी मनोनित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चले भोटिङका लागि ई-सेवासँग प्रायोजन सम्झौता गरेको छ। १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही २०७९ साल फागुन २३ गते हुँदैछ। यो संस्करणमा रहेका विधाहरुमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। यसपटक पिपल्स च्वाइस विधातर्फ क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन्।
समर्थक, खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाका विजेताको चयन हुनेछन् । गत वर्षजस्तै भोटिङका लागि यस वर्ष पनि एनएसजेएफले ई–सेवासँग सम्झौता गरिसकेको छ । पिपल्स च्वाइस विधामा इसेवाबाट आएका मतको मतभार ५० प्रतिशत रहनेछ भने सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत हुनेछ । यस्तै राष्ट्रिय प्रशिक्षक र खेलपत्रकारको मतभार समान १२ दशमलब ५ प्रतिशत हुनेछ ।
यसअघि वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरि चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दै आएकोमा यस संस्करणबाट वर्षको उत्कृष्ट युवा खेलाडीले पनि मोटरसाइकल प्राप्त गर्ने बताइएको छ । यसैगरी अन्य विधाका विजेताल जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया