एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले फराकिलो जीत दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ८२ बल बाँकीछदै ६ विकेटले पराजित गरेको हो ।
नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरेका हुन् ।
कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० तथा भीम सार्कीले ५ चौकाको मद्दतमा ७१ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।
त्यस्तै कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रन बनाए । आसिफ शेख १ रनमा आउट भएका थिए ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।
मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। उनले ९५ बलमा ७६ रन बनाएर फैजले ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। उनले ९४ बलमा ४६ रन बनाएर दुई चौका प्रहार गरेका थिए । खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडेका थिए ।
नेपालका लागि बलर सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिएका थिए । ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए भने १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए ।
नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिएका थिए ।
१० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।
यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।
प्रतिक्रिया