एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३६.३ ओभरमा सबै विकेटको क्षतिमा २२८ रन मात्रै बनाउन सक्यो ।
कुवेतका सायद मोनिबले ३६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ६८ रन बनाएका थिए । परभिन्दर कुमारले २६ बलमा सात छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाएका थिए । कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए पनि कुवेत फराकिलो अन्तरले पराजित भएको हो ।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र कार्थिक मैयाप्पनले समान ३–३ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पाएको थियो ।
यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाएका थिए भने उनले १४७ बलमा १७ चौका र ९ छक्का पनि प्रहार गरेका थिए । रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । २४ रन हुँदा तीन विकेट गुमाएको यूएईले चौथो विकेट २९९ रन बनाउँदा गुमाएको थियो । आसिफ खानले ९ बलमा ३० रन बनाएका थिए ।
प्रतिक्रिया