नामिबियामाथि नेपालको लगातार दोस्रो जित, नेपाल ३ विकेटले विजयी - Khel Sarokar

नामिबियामाथि नेपालको लगातार दोस्रो जित, नेपाल ३ विकेटले विजयी

Khel Sarokar

खेल सरोकार

नामिबियामाथि नेपालको लगातार दोस्रो जित, नेपाल ३ विकेटले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले नामिबियालाई तीन विकेटले हरायो ।

नेपालको जितका लागि आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले उत्कृष्ट ब्याटिङ्ग गर्दै अर्धतकीय इनिङ्ग खेले । आशिफले ९८ बलमा ८ चौका र २ छक्कासहित ८१ रनको अर्धशतकीय इनिङ्ग खेल्दा ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६५ तथा कुशलले ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए ।

यस जितसँगै २७ खेलमा २४ अंक जोडेको नेपाल छैटौं स्थानमा कायम रहँदा पराजय ब्यहोरेको नामिबिया ३३ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि एक सय ३९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो कुनै पनि विकेटका लागि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा गरेको उच्च साझेदारी हो ।

यसअघि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी एक सय ३३ रन थियो । नामिबियाविरुद्ध नै मंगलबार कुशल भुर्तेल र रोहित पौडेलले यो साझेदारी गरेका थिए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै  विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।  नामिबियाका लागि  जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।  पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए ।

नेपालले अब घरेलु श्रृंखलाको चौंथो तथा अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया