एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा - Khel Sarokar

एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा

Khel Sarokar

खेल सरोकार

एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी मेन्स प्रिमियर कप खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ। वैशाख ५ गतेदेखि वैशाख १८ (अप्रिल १८ देखि १ मे) गतेसम्म हुने प्रतियोगितामा कूल १० टिमको सहभागिता रहने छ।

नेपालमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २१ खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले बुधबार बन्द प्रशिक्षणमा प्रारम्भिक टिमका कप्तान रोहित पौडेलको कप्तानीमा २१ खेलाडीलाई बोलाएका हुन् ।

प्रारम्भिक टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी।, ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल रहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । सबै खेल बिहान ९:३० बजेबाट सुरु हनेछ ।

प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टिम नेपालसँगै, कतार, साउदी अरेबिया, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, यूएई र सिंगापुर छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख १८ (मे १) मा हुने भए पनि एसीसीले वैशाख १९ (मे २) लाई ‘रिजर्भ डे’ मा राखेको छ ।

एसीसी मेन्स प्रिमियर कप पाकिस्तानमा हुने एसिया कप–२०२३ को छनोट प्रतियोगिता हो । मे २ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गर्नेछ भने एसिया कपमा छनोट हुने टिमले समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

प्रतिक्रिया