एसीसी प्रिमियर कप समूह ‘बी’ को आज बिहीबार भएको खेलमा बहराइनले सिंगापुरलाइ २८७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको बहराइनले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन बनाउन सफल भयाे ।
बहराइनका फियाज अहमेदले ५९ बलमा नौ चौका र एक छक्का प्रहार गरेर ७९ रन बनाए । साहबाज बाबरले ९८ बलमा आठ चौका र एक छक्कासहित ७६ रन बनाए । सोहाइल अहमेदले ४६, कप्तान हैदर बटले २९, मुहम्मद युनिसले २३ र जुनैद अजिजले ११ रन बनाए ।
प्रतियोगितामा सिंगापुरको यो दोस्रो खेल हो । बहराइनको भने प्रतियोगितामा यो पहिलो खेल हो ।
सिंगापुरका रमेश कालिमुथु, थिलिपन ओमाइदुराई र विनोथ बस्करनले समान दुई विकेट लिए ।
सिंगापुर पहिलो खेलमा हङकङसँग आठ विकेटले पराजित भएको थियो ।
यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
जसको समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस्तै, समूह ‘ए’मा नेपाल, ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
प्रतिक्रिया