युरोपेली टोली टर्कीले २४ वर्षको लामो प्रतीक्षा अन्त्य गर्दै फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ।
प्लेअफ फाइनलमा टर्कीले कोसोभोमाथि १–० को कठिन जित निकाल्दै विश्वकप यात्रा सुनिश्चित गरेको हो। खेलको निर्णायक गोल केरेम अक्टुर्कोग्लुले दोस्रो हाफको ५३औँ मिनेटमा गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टर्कीले दोस्रो हाफमा आक्रमण तीव्र बनाउँदै अग्रता लिएको थियो। त्यसपछि कोसोभोले बराबरीका लागि लगातार प्रयास गरे पनि गोल गर्न सकेन।
कोसोभोले अन्तिम समयमा केही राम्रो अवसर सिर्जना गरे पनि टर्कीका गोलकिपरले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाए।
यो जितसँगै टर्कीले सन् २००२ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। सन् २००२ मा टर्कीले ऐतिहासिक रूपमा तेस्रो स्थान हासिल गरेको थियो।
अब टर्की विश्वकप २०२६ को समूह ‘डी’ मा अमेरिका, अष्ट्रेलिया र पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
हारसँगै कोसोभोको पहिलो पटक विश्वकप खेल्ने सपना अधुरै रह्यो, यद्यपि टोलीको प्रदर्शनलाई भविष्यका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ।
प्रतिक्रिया