आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई प्रस्थान भएका छन् । सर्वोच्च अदालतले विदेश जान अनुमति लिनु नपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । आईसीसीबाट स्वीकृति पाएलगत्तै आज दिउँसो ३ बजे यूएईको लागि प्रस्थान गरिसकेका छन् ।
दुबईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिज खेल्न लामिछाने गएका हुन् । हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी मौसम ढकाल अभ्यासका क्रममा चोट लागि घाइते भएपछि उनको ठाँउमा लामिछाने टोलीमा समावेश हुने भएका छन् । नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा मौसमको काँधमा चोट लागेको थियो । दासका अनुसार नजिकैको अस्पतालमा ढकालको चेकजाँच भएको र अस्पतालले रिपोर्ट दिएपछि रिपोर्ट आईसीसीलाई पठाएको थियो। आईसीसीलाई पठाएको रिपोर्टको आधारमा खेलाडी परिवर्तनको अनुमति दिएको हो।
नाबालिग बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका सन्दीपलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले पुर्पक्षमा राख्नु नपर्ने निर्णय गर्दै विदेश जान अनुमति दिएको थियो । यसअघि उच्च अदालत पाटनले कडा सर्त सहित धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो । पाटन अदालतले विदेश जान रोक लगाएपछि सन्दीपले पनि सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
प्रतिक्रिया