मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटकाे फाइनलमा - Khel Sarokar

मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटकाे फाइनलमा

Khel Sarokar

खेल सरोकार

मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटकाे फाइनलमा

ललितपुर मेयर कप महिला क्रिकेटमा मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश फाइनलमा पुगेको छ । यो जितसँगै कोशीले विभागीय टोली एपीएफसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 
मधेशलाई रुविना क्षेत्रीको अलराउन्डर प्रदर्शनले फराकिलो अन्तरमा पराजित गर्यो । कोशीका लागि रुविनाले ब्याटिङबाट ३८ बलमा ६ चौका सहित ३९ रन बनाइन् भने बलिङमा २ विकेट लिइन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कोशीका काजोल श्रेष्ठले २२ रन बनाइन् । कोशीले पहिलो विकेटमा ४० रनको साझेदारी गरेको थियो ।

अप्सरी बेगमले १९ रन, स्मृति कटुवालले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि सरस्वती चौधरी, अमिरन निशा र अमिशा पटेलले समान २–२ विकेट लिए ।
कोशीले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सफल भयो ।
मधेशका लागि सरस्वती चौधरीले मात्र दोहोरो अंकमा रन बनाइन्, उनले १७ बलमा १ चौका प्रहार गरिन् । साना प्रविनले ८ रन, सन्तोषी चौधरीले ५ रन बनाए ।
४ खेलमा चार जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा छ भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थान गरि फाइनलमा पुगेको छ ।
 

प्रतिक्रिया