रंगशालाको काम रोकिएको करिब डेढ वर्ष भइसकेको छ । रंगशाला भित्र झारपात बढेको छ । जडान गरिएका पिलरका रडमा खिया लाग्न थालेको छ । हेरचाह नहुँदा वर्षामा रंगशाला डुब्न थालेको छ । मजदुरलाई बस्नका लागि निर्माण गरिएका संरचनाहरूमा दरार आउन थालेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्न नसक्दा काम अघि बढ्न सकेको छैन ।
२०७५ सालमा भरतपुर महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले प्रयोग गरेको २० बिघा ६ कट्टा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उपलब्ध गराए पछि विशेष उत्साह थियो । दिनरात काम चलिरहेको थियो । रंगशालामा आएकाले सहजै सहयोग गर्थे । विदेशमा रहेका नेपालीले पनि सहयोग रकम पठाइरहेका थिए। तर, कोरोना भाइरसको महामारी सुरु भएपछि बिस्तारै पैसाको प्रवाह कम हुन थाल्यो । कोष जुटाउन (१९-२७ जनवरी) रंगशाला परिसरमा महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट सोचेअनुरुप रकम संकलन हुन सकेन ।
कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)द्वारा सञ्चालित धुर्मुस–सुन्तली फाउन्डेसनले रकम अभाव र १८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि रंगशाला निर्माण रोकिएको छ ।
फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार महायज्ञमा बोलपत्र रकमको एक चौथाइ मात्र उठ्ने हो भने ऋण तथा बक्यौता तिर्न कुनै समस्या नपर्ने बताए । महायज्ञमा ६९४.५ लाख ५६ हजार सङ्कलन भएको थियो । तर फाउण्डेशनका अनुसार ९ करोड ४१ लाख ५८ हजार ३६७ रुपैयाँ मात्रै जम्मा हुन सकेको छ ।
महायज्ञमा तोकेको रकम नतिर्नेमा चर्चित ठेकेदार, समाजसेवी, विभिन्न संघसंस्था र सरकारी निकाय रहेका छन् । कोष जुटाउनका लागि फाउन्डेसनले कुर्सीमा नाम लेख्ने, हातगाडीमा फलफूल बेच्ने, रंगशालाभित्र सफारी गर्ने, फिल्म बनाउने जस्ता अभियान चलायो । तर अपेक्षित नतिजा आउन सकेन।
धुर्मुस–सुन्तली फाउण्डेशनले आयोजनाको स्वामित्व लिन भरतपुर महानगरपालिकालाई आग्रह गरेको थियो भने स्थानीय सरकारले संघीय सरकारलाई आयोजनाको स्वामित्व लिन आग्रह गरेको थियो । आयोजनाको अनुमानित लागत रु तीन अर्ब रहेको छ । भरतपुर महानगरपालिका र फाउन्डेसनबीच २०७५ माघ १६ गते भएको सम्झौता अनुसार रंगशाला निर्माण सम्पन्न भएपछि वा स्रोतसाधन उपलब्ध नभएमा तत्काल सरकारलाई हस्तान्तरण गरिने उल्लेख छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माण गर्दा लागेको चर्को ऋण कसरी तिर्ने भन्ने प्रष्ट कानुनी व्यवस्था नभएकाले समस्या देखिएको बताएको थिईन।मेयर दाहालले रङ्गशाला निर्माण गर्दा ऋणको जिम्मा कसले लिने भन्ने सम्झौतापत्रमा उल्लेख नभएकोले समस्या रहेको जानकारी दिएकी थिईन। ‘रङ्गशालाको ऋण तिर्नुपर्छ, त्यसको समाधान खोजिरहेको छौ,’ उनले भनिन् ।
मेयर दाहालले प्रधानमन्त्री र युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव र खेलकुद मन्त्रालयका सचिवसँग निर्माण कार्यको प्रगतिबारे छलफल भइरहेको बताएको थिईन। रंगशाला निर्माणका लागि सङ्घीय सरकारले २२ करोड रुपैयाँ र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक राजस्वबाट ८० करोड रुपैयाँ खर्च गरिसकेको छ । निर्माणका क्रममा भएको ऋण चुक्ता गर्ने बाटो नभेट्दा काम रोकिएको दाहालको भनाइ छ ।रङ्गशाला निर्माण महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले सरकारको तर्फबाट ऋण तिर्न सक्ने व्यवस्था नभएको खण्डमा फाउन्डेसनले तिर्न पर्ने बताइन। फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सकिएको थियो । कुल ३०,००० दर्शक क्षमताको रंगशालामा प्याराफिटका लागि २८६ वटा स्तम्भ निर्माण गरिएको छ । केही स्तम्भको काम सकिएकोछन् भने केहीको बाँकी छ ।
रंगशाला निर्माणको लागत सार्वजनिक नगरेको भन्दै धुर्मुस–सुन्तली आलोचनामा परेका छन् । यता धुर्मास भने सरकारी कार्यालयले आर्थिक प्रतिवेदन बनाउन थालेकाले समय गएको बताउँछन् । उनले रंगशाला निर्माणको अवस्था र त्यसमा परेका समस्याका बारेमा छिट्टै कुरा गर्ने बताएको थिए । सिंहदरबारका ढोका–ढोका चहार्दै हिंड्दा आफू आजित भएको, तर कतैबाट सहयोग नभएको कट्टेलको गुनासो छ । उनको आग्रह छ, रंगशाला बनाउँदा लागेको उधारो तिरेर सरकारले नै काम अगाडि बढाओस्, सहयोग गर्न सधैं तयार छु । अहिले सम्म पनि धुर्मुस र सुन्तलीले यस बिषयमा वा आर्थिक हिसाब किताबको विवरण सार्बजनिक गरेका छैनन् ।
रंगशाला निर्माणमा भएको कामको भरतपुर महानगर र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले छुट्टाछुट्टै आर्थिक प्रतिवेदन तयार पारेका थिए । यो सार्वजनिक भएको छैन ।
भरतपुर महानगरपालिकाले गरेको अडिट अनुसार उधारो र ऋण १८ करोड ४३ लाख तिर्नुपर्ने देखिएको छ । यसमध्ये १ करोड ८४ लाख ९७ विभिन्न संघ–संस्था तथा व्यक्तिसँग लिएको ऋण छ । बाँकी भने निर्माण सामग्री ल्याएबापत तिर्नुपर्ने रकम हो, जसमा चितवन रेडिमिक्सको ३ करोड ४७ लाख २६ हजार, जगदम्बा इन्टरप्राइजेजको २ करोड ३५ लाख, विशेष एण्ड को–प्राइभेट लिमिटेडको २ करोड १५ लाख र हामा स्टिलको २ करोड २ लाख रुपैयाँ छ ।
१३ माघ २०७८ मा महानगरलाई बुझाइएको प्रतिवेदनमा धुर्मुस–सुन्तली फाउण्डेशनले ६३ करोड २२ लाख ५ हजार रुपैयाँ बराबरको काम गरेको उल्लेख छ । यो रकममा कार्यालय व्यवस्थापन खर्च ४ प्रतिशत, बोलपत्रदाताको ओभरहेड १५ प्रतिशत र १३ प्रतिशत भ्याट समेत समावेश छ । यो सबैलाई कटाउने हो भने रंगशालामा ५० करोड २० लाख ७८ हजार बराबरको काम भएको छ । यसमा रंगशालाभित्र मौज्दात निर्माण सामग्री, नमूना र भित्रको खेल मैदानमा रोपिएको दूबो, पिचका लागि ल्याइएको माटो र ढुवानी खर्च तथा स्क्राप सामग्रीहरूको मूल्य समावेश नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया