सहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् ।
च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन ।
बराबरीपछि दुवै टिमले लिगमा पहिलो एक अंक जोडेका छन् । यसअघि फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार एपीएफसँग पराजित भएको थियो ।
च्यासल मैदानमा भएको खेलको दोस्रो मिनेटमै अजयी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । तर १४औं मिनेटमा फ्रेण्ड्सका कुशलले गोल फर्काए ।२४औं मिनेटमा योगेश गुरुङले गोल गरि थ्री स्टारलाई फेरि अग्रता दिलाए तर ४३औं मिनेटमा उक्तामोभले फ्रेण्ड्सका लागि गोल फर्काए ।
बराबरीतर्फ अघि बढिरहेको खेलको ८७औं मिनेटमा प्रदिप लम्सालले गोल गर्दै थ्री स्टारलाई जित नजिक पुर्याईएका थिए तर कुशल फुयालले इन्जुरी टाइमको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी फ्रेण्ड्सलाई लगातार दोस्रो हारबाट जोगाए ।
प्रतिक्रिया