बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएका छन् ।
पहिलो पटक सहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा बुधबार बालगोपाल महर्जनलाई प्रशिक्षक अनुबन्ध गरेको छ ।
चर्च ब्वाइजले सामाजिक सञ्जाल फेसबुकमार्फत बालगोपाल महर्जनलाई प्रशिक्षक बनाएको जनाएको छ ।
यसअघि चर्च ब्वाइजले अमेरिकाको ग्रीनकार्ड भएका प्रदिप हुमागाईँलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका थिए । हुमागाईँले छाडेपछि महर्जनलाई प्रशिक्षक नियुक्त गरेको क्लबले जनाएको छ ।
ए डिभिजनको डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइज ३ जित र ४ बराबरीबाट १३ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
बिहीबार दशरथ रंगशालमा हुने फ्रेण्ड्स क्लब विरुद्धको खेलबाट बालगोपाल महर्जनले चर्च ब्वाइजको प्रशिक्षण सम्हाल्ने भएका छन् ।
महर्जनले यसअघि थ्रीस्टार र मनाङ मर्स्याङ्दीको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने फ्रेण्ड्सको टेक्निकल कमिटीमा रहेर काम गरेका थिए ।
महर्जनको प्रशिक्षणमा नेपालले यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टिमबाट बंगबन्धु गोल्डकपको उपाधि पनि जितेको थियो ।
यस्तै दुई वर्षअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो । यस्तै पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलमा काठमाडौं उनले रेजर्सलाई पनि उपाधि दिलाएका थिए ।
प्रतिक्रिया